Friday, April 17, 2026

‘बिग रिफर्म’ बजेटको तयारीमा अर्थ मन्त्रालय: आर्थिक रूपान्तरण र खर्च कटौतीमा जोड


आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन कार्य सुरु भएसँगै अर्थ मन्त्रालयले सुरक्षाका कारण मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट निर्माणको संवेदनशीलतालाई ध्यानमा राख्दै सूचना चुहावट रोक्न र काममा अवरोध नहोस् भन्ने उद्देश्यले प्रवेश व्यवस्था कडा बनाइएको हो।

अब मन्त्रालयमा मुख्य उत्तरतर्फको ढोका मात्र सञ्चालनमा छ भने अन्य प्रवेशद्वार बन्द गरिएको छ। सुरक्षाकर्मीहरूले कडा सोधपुछपछि मात्र प्रवेश अनुमति दिने व्यवस्था मिलाइएको छ। बजेट तथा कार्यक्रम महाशाखामा अतिरिक्त सुरक्षाकर्मी पनि खटाइएको छ।

यसैबीच, अर्थ मन्त्रालयले आगामी बजेटमार्फत ‘बिग रिफर्म’ (व्यापक आर्थिक सुधार) सहित देशको अर्थतन्त्रमा रूपान्तरण गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटलाई दशकौँयताकै ठूलो आर्थिक सुधारको आधार बनाउने लक्ष्य रहेको बताएका छन्।

उनका अनुसार बजेटको मुख्य प्राथमिकता उच्च आर्थिक वृद्धि हासिल गर्नु, रोजगारी सिर्जना गर्नु र प्रतिव्यक्ति आय बढाउनु हुनेछ। सुस्त अर्थतन्त्रलाई चलायमान बनाउने विशेष कार्यक्रमहरू पनि बजेटमा समावेश गरिनेछ।

सरकारले यसपटक सार्वजनिक खर्चमा व्यापक कटौती गर्ने नीति लिने तयारी गरेको छ। अनावश्यक प्रशासनिक खर्च घटाउने, इन्धन उपयोगमा मितव्ययिता अपनाउने र सरकारी खर्चलाई प्रभावकारी बनाउने योजना बजेटको महत्वपूर्ण हिस्सा हुने बताइएको छ।

डिजिटल शासनलाई प्राथमिकतामा राख्दै सरकारले अर्थतन्त्रलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ प्रणालीतर्फ लैजाने लक्ष्य राखेको छ। कर प्रणालीलाई व्यवसायमैत्री बनाउने र सेवा प्रवाहलाई आधुनिक बनाउने योजना पनि बजेटमा समेटिनेछ।

यसैगरी, बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनर्जीवन दिने योजना पनि अघि सारिएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमार्फत निजी क्षेत्रको सहभागिता बढाउने तयारी गरिएको छ।

बजेट निर्माणका लागि अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा अन्य वरिष्ठ सहसचिवहरू सदस्य छन् र उनीहरूले बजेटको मस्यौदा तयार पारिरहेका छन्।

राष्ट्रिय योजना आयोगले आगामी बजेटका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको खर्च सीमा निर्धारण गरेको छ। सोही सीमाभित्र रहेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like