- by समाचार कक्ष
- Mar 06, 2025
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार जनताले व्यक्त गरेको भावना, अपेक्षा र चाहनाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा निर्वाचनपछि युवा सहभागिता उल्लेखनीय रूपमा बढेको र नयाँ सरकारले काम सुरु गरिसकेको बताए। यसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति युवा पुस्ताको विश्वास र आकर्षण बढेको स्पष्ट संकेत दिएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलका अनुसार जनताले पारदर्शी र उत्तरदायी शासन, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासन, विधिको शासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा दण्डहीनताको अन्त्य जस्ता विषयमा स्पष्ट अपेक्षा राखेका छन्। यी अपेक्षाहरू विभिन्न जनआन्दोलन र विशेषगरी युवाहरूको संघर्षमार्फत प्रकट भएको उनले उल्लेख गरे।
उनले जनताको आकांक्षा पूरा गर्न संसद्ले नागरिकमैत्री र जनकल्याणमुखी कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, निर्माण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताए।
राष्ट्रपतिले न्यायपालिकाबाट छिटो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुनुपर्नेमा पनि जोड दिँदै यसैमार्फत शहीदहरूको बलिदानप्रति साँचो सम्मान प्रकट हुने धारणा राखे।