- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपाली परिवारमा भएको दर्दनाक घटनाले समुदायलाई स्तब्ध बनाएको छ। ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको हत्या गर्नुका साथै ज्वाइँमाथि आक्रमण गरेका थिए। अवस्था नियन्त्रणमा लिन पुगेका प्रहरीको गोली लागेर थापाको पनि मृत्यु भएको छ।
प्राप्त विवरणअनुसार पर्सिमोन ड्राइभ स्थित एक आवासीय भवनमा थापाले करिब १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनीहरूको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतमाथि पनि आक्रमण हुँदा उनी गम्भीर अवस्थामा उपचाररत छन्।
घटना देखेपछि सन्तोषले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा थापा पुनः आक्रमण गरिरहेको अवस्थामा फेला परेका थिए। हतियार त्याग्न बारम्बार आदेश दिँदा पनि नमानेपछि प्रहरीले गोली चलाएको र त्यसक्रममा थापाको मृत्यु भएको बताइएको छ।
घटनामा एक वर्षीय शिशु भने सुरक्षित रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार परिवारको कुनै आपराधिक पृष्ठभूमि नरहेको जनाइएको छ। यस्तो भीषण पारिवारिक घटनाले प्रहरी अधिकारीहरू समेत आश्चर्यचकित बनेका छन्।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले उक्त घटनालाई “कल्पनाभन्दा बाहिरको भयावह दृश्य” भन्दै टिप्पणी गरेका छन्। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।