काठमाडौं, २९ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट समूहले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न माग गरेको छ।
महामन्त्री धवलशमशेर राणा निकट पक्षको आइतबार कान्तिपथमा बसेको बैठकले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने माग अघि सारेको हो। साथै, केन्द्रीय महाधिवेशनको मिति एक हप्ताभित्र घोषणा गर्न पनि दबाब दिइएको छ।
बैठकले पार्टीको वर्तमान अवस्था गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै ताजा जनादेशका लागि महाधिवेशन आवश्यक रहेको जनाएको छ। चार वर्षे कार्यकाल सकिएको र पार्टी अतिरिक्त अवधिमा सञ्चालन भइरहेको भन्दै नयाँ नेतृत्व चयन अपरिहार्य भएको असन्तुष्ट पक्षको धारणा छ।
असन्तुष्ट समूहले पछिल्लो निर्वाचन परिणाम अपेक्षाभन्दा निकै कमजोर आएको भन्दै त्यसको समीक्षा नगरेकोमा नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेको छ। साथै, पराजयप्रति कुनै नैतिक जिम्मेवारी नलिएको आरोप पनि लगाइएको छ।
त्यसैगरी, उपसभामुख पदमा उम्मेदवारी दिने निर्णयप्रति पनि असन्तुष्टि जनाइएको छ। उक्त निर्णय पार्टीभित्र पर्याप्त छलफल बिना गरिएको भन्दै यसले पार्टीको सिद्धान्त र निष्ठामाथि प्रश्न उठाएको टिप्पणी गरिएको छ।
असन्तुष्ट पक्षले पार्टीभित्र विधि, पद्धति र लोकतान्त्रिक अनुशासन कमजोर भएको निष्कर्ष निकाल्दै नेतृत्वबाट स्पष्ट दिशा र सुधारको माग गरेको छ।