काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उहाँमाथि उठाइएका गम्भीर प्रश्नहरूप्रति ध्यानाकर्षण भएको जनाउँदै आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ। पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिएको जनाएको छ।
पार्टीले जारी गरेको वक्तव्यमा सुनारसँग सम्बन्धित विषयहरूमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता आरोपहरू सार्वजनिक भएको उल्लेख गर्दै ती विषयलाई गम्भीर र संवेदनशील रूपमा लिएको जनाएको छ। यद्यपि, यी विषयहरू सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएका हुन् र तिनको सत्यतथ्य अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको पार्टीको वक्तव्यले स्पष्ट पारेको छ।
विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको दाबी गर्दै रास्वपाले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता प्रकृतिका आरोपलाई सामान्य रूपमा लिन नसकिने जनाएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि वक्तव्यमा उल्लेख छ।
छानबिन प्रक्रिया निष्पक्ष रूपमा अघि बढोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले अनुसन्धानको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको पार्टीले जनाएको छ।
यसैगरी, सार्वजनिक भएका विषयको गाम्भीर्यलाई ध्यानमा राख्दै राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास पार्टीले व्यक्त गरेको छ। राज्यका निकायबाट सञ्चालन हुने अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि रास्वपाले जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको स्वतन्त्र अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चाल्ने जनाएको छ। कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता व्यक्त गर्दै पार्टीले घटनाको निष्पक्ष छानबिन र प्राप्त निष्कर्षका आधारमा आवश्यक निर्णय लिने संकेत गरेको छ।






