Thursday, April 16, 2026

विद्यार्थीको तनाव घटाउन एक महिनामा एसईई नतिजा सार्वजनिक: शिक्षा मन्त्री पोखरेल


१८ चैत, काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ। यो निर्णय प्रधानमन्त्री बालेन शाहसँगको परामर्शपछि लिइएको हो।

मन्त्रालयले परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरेर छिटो नतिजा घोषणा गर्न बोर्डलाई निर्देशन दिएको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीमा अनावश्यक तनाव नपरोस् भन्ने उद्देश्यले यस्तो कदम उठाइएको बताए।

मन्त्री पोखरेलका अनुसार, ‘पहिलेको तुलनामा प्रविधि धेरै परिवर्तन भएको छ। विद्यार्थीले नतिजाका लागि किन तीन महिना कुर्नु? एक महिनाभित्र नतिजा निकाल्न सकिन्छ, अझ छिटो पनि गर्न सकिन्छ।’ उनले ७७ जिल्लाका शिक्षा एकाइबाट छिटो नतिजा निकाल्न सकिने सुझाव आएको पनि बताए।

सरकारले तीन महिनासम्म विद्यार्थीले नतिजा कुर्नुपर्ने र अनावश्यक तयारी कक्षाको दबाब बढ्ने भएकाले यस निर्णयमा पुगेको हो। यसैगरी, ब्रिज कोर्सजस्ता तयारी कक्षा पनि मन्त्रालयले रोक लगाइसकेको छ। मन्त्री पोखरेलले भने, ‘विद्यार्थीले आफ्नो रुचिअनुसार सिक्न सक्छन्; कसैले खेलकुद, कसैले संगीतमा ध्यान दिन सक्छन्।’

साथै, नतिजा मात्र होइन, डाटा इन्ट्री र पुनर्योगसम्बन्धी काम परीक्षा केन्द्रबाटै कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिए। आगामी शैक्षिक सत्रदेखि एसईई संघ, प्रदेश वा स्थानीय तहले सञ्चालन गर्ने भन्नेबारे पनि छलफल भइरहेको छ। उनले भने, ‘संविधान अनुसार १२ कक्षासम्म स्थानीय तहमा पुगेको छ, तर प्रदेशले गर्दा उपयुक्त हुने सुझाव पनि आएको छ। हामी छलफल गरिरहेका छौँ।’

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like