Monday, March 2, 2026

१७ वर्षपछि फर्किए रहमान: बंगलादेशमा बीएनपीको प्रचण्ड बहुमत, नयाँ प्रधानमन्त्रीको बाटो तयार


ढाका - बंगलादेशमा १८ महिनाअघि छात्र आन्दोलनले शेख हसीना नेतृत्वको सरकार ढालेपछि सम्पन्न पहिलो आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) गठबन्धनले प्रचण्ड बहुमत हासिल गरेको छ।

तारिक रहमान नेतृत्वको बीएनपीले ३०० सदस्यीय संसदमा दुई–तिहाइभन्दा बढी सिट जितेर राजनीतिक दृढता देखाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बीएनपी गठबन्धनले २०९ सिट जितेको छ भने जमात ए इस्लामी गठबन्धनले करिब ७० सिट प्राप्त गरेको छ। यस चुनावमा करिब १२.७ करोड मतदाताले आफ्नो मत प्रयोग गरेका थिए।

लन्डनमा १७ वर्ष निर्वासनमा रहेका तारिक रहमान अब बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल देखिन्छ। उनी बीएनपीका सुप्रिमो तथा पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। बीएनपीले आफ्नो जितलाई ‘जनताको विश्वासको प्रमाण’ भनेको छ।

यो परिणामले २०२४ को ‘जन–युवा क्रान्ति’ पछि अस्थिर राजनीतिक परिस्थितिलाई स्थिर बनाउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान प्रक्रिया ‘स्वतन्त्र तर पूर्ण निष्पक्ष नभएको’ भने पनि कुनै ठूलो विवाद उठेको छैन।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले तारिक रहमानलाई बधाई दिँदै भनेका छन्, “यो जित जनताको विश्वासको प्रतिबिम्ब हो।”

नजिकका दिनमा नयाँ सरकार गठन र सांसदहरूको शपथ ग्रहण हुने अनुमान गरिएको छ। यस परिवर्तनले दक्षिण एसियाली क्षेत्रको राजनीति पनि असर गर्न सक्ने देखिन्छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like