- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - सरकारले चालू आर्थिक वर्ष २०७८/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार माघ २९ गतेसम्म यो रकम सङ्कलन भएको हो। गत वर्षको सोही अवधिसँग तुलना गर्दा यो ३.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्ष माघ मसान्तसम्म ६ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
हालको लक्ष्य अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ सङ्कलन गर्ने योजना थियो। सात महिनापछि लक्ष्यको तुलना गर्दा ८१.६१ प्रतिशत मात्र प्रगति भएको देखिन्छ, जसले सुधार भए पनि लक्ष्य र वास्तविक सङ्कलनबीच ठूलो खाडल देखाएको छ।
भन्सार महसुलतर्फ सरकारले माघ मसान्तसम्म १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो। तर यस अवधिमा १ खर्ब ३५ अर्ब ३२ करोड मात्र सङ्कलन भएको छ, जुन लक्ष्यको ७९.३७ प्रतिशत मात्र हो। यद्यपि, गत वर्षको तुलनामा यस वर्ष भन्सार महसुल ७.५३ प्रतिशतले बढेको देखिएको छ। भन्सार अन्तर्गत पैठारीतर्फ ७.४४ प्रतिशत र निकासीतर्फ २०४.९३ प्रतिशतले वृद्धि भएको छ।
राजस्वको अर्को प्रमुख आधार मानिने मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलनमा पनि वृद्धि देखिएको छ। समीक्षा अवधिसम्म २ खर्ब १७ अर्ब २१ करोड रुपैयाँको लक्ष्य राखिएकोमा १ खर्ब ९६ अर्ब रुपैयाँ सङ्कलन भएको छ, जुन गत वर्ष सोही अवधिसँग तुलना गर्दा ७.६३ प्रतिशतले बढेको हो। भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा क्रमशः ७.८० प्रतिशत र पैठारीतर्फ ७.४२ प्रतिशतले वृद्धि भएको छ।
अन्तःशुल्क सङ्कलनमा पनि दोहोरो अंकको सुधार देखिएको छ। गत वर्ष माघ मसान्तसम्म ९५ अर्ब ९ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १०.८८ प्रतिशतले वृद्धि भई १ खर्ब ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०५ प्रतिशत र पैठारीतर्फ १३.१४ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ।
तर आयकर र अन्य गैर-कर राजस्वमा भने गिरावट देखिएको छ। आयकर तर्फ गत वर्ष माघ मसान्तसम्म १ खर्ब ५९ अर्ब ९६ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ०.८१ प्रतिशतले घटेर १ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ। आयकरको लक्ष्य २ खर्ब २० अर्ब ७ करोड ५४ लाख रुपैयाँ थियो। त्यस्तै, गैर-कर राजस्व तर्फ गत वर्ष ७७ अर्ब २१ करोड ३ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १५.८१ प्रतिशतले घटेर ६५ अर्ब ९ करोड ३ लाख मात्र सङ्कलन भएको छ। गैर-कर राजस्वको लक्ष्य ८७ अर्ब १० करोड ८७ लाख रहेको थियो।
शिक्षा सेवा शुल्क र अन्य साना शीर्षकमा भने उत्साहजनक वृद्धि देखिएको छ। गत वर्ष २ अर्ब १४ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ६१.०७ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
विभागीय रूपमा हेर्दा, भन्सार विभागले माघ मसान्तसम्म २ खर्ब ७८ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जुन गत वर्षको तुलनामा ८.०४ प्रतिशत बढी हो। यस अवधिमा भन्सार विभागलाई ३ खर्ब ३२ अर्ब ११ करोड उठाउने लक्ष्य दिइएको थियो, जसको प्रगति ८३.८४ प्रतिशत मात्र हासिल भएको छ। अर्कोतर्फ, आन्तरिक राजस्व विभागले ३ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन गरेको छ, जसमा ४.२१ प्रतिशतको वृद्धि देखिएको छ। यस विभागलाई ३ खर्ब ९४ अर्ब १२ करोड उठाउने लक्ष्य दिइएको थियो, र प्रगति ८१.३६ प्रतिशत पुगेको छ।
समग्रमा, सात महिनाको राजस्व सङ्कलनले केही सुधार देखाए पनि लक्ष्य र वास्तविक प्रगति बीच ठूलो अन्तर रहेको छ, विशेष गरी आयकर र गैर-कर राजस्वको क्षेत्रमा।