Sunday, October 19, 2025

विपिनसहित २२ बन्धक जीवित रहेको इजरायली विश्वास : वासिङ्टन पोस्ट


२६ असोज, काठमाडौं ।
हमासद्वारा अपहरण गरिएका बन्धकहरूमध्ये नेपालका विपिन जोशीसहित २२ जना अझै जीवित रहेको इजरायली अधिकारीहरूले विश्वास गरेका छन्। अमेरिकी समाचार संस्था एपीको सहयोगमा वासिङ्टन पोस्टले शनिबार प्रकाशित गरेको समाचारमा इजरायली सुराकी र सैन्य निकायले संकलन गरेका विभिन्न सूचनाको आधारमा यस्तो विश्वास गरिएको उल्लेख छ।

२४ वर्षीय नेपाली नागरिक विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अन्य विदेशी श्रमिकहरूसँगै गाजामा अपहरणमा परेका थिए। वासिङ्टन पोस्टमा एपीका पत्रकार मेलानी लिडम्यान र स्याम मेट्जले तयार पारेको विशेष रिपोर्टमा विपिनसहित अन्य २१ जनाको नाम, परिचय र सम्भावित अवस्थाबारे विवरण प्रस्तुत गरिएको छ।

इजरायल र हमासबीच पछिल्लो पटक शुक्रबारबाट लागू भएको युद्धविराम सहमति अनुसार बाँकी बन्धकहरूको रिहाइ प्रक्रिया सुरु भइसकेको छ। सहमति अनुसार आइतबारसम्म (स्थानीय समयअनुसार दिउँसो १२ बजे, नेपाली समय अनुसार अपराह्न २ः४५) भित्र विपिनसहित बाँकी ४८ जना बन्धकहरूलाई रिहा गरिनुपर्ने उल्लेख गरिएको थियो। तर, हमासले तोकिएको समयमै सबै बन्धकहरू हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ।

यसअघि हमासले सार्वजनिक गरेको एक भिडिओमा विपिन जोशीको तस्वीर देखिएको थियो, जसले उनी अझै जीवित रहेको पुष्टि गर्न सघाउँछ। यद्यपि, हालसम्म हमासले जीवित रहेका बन्धकहरूको आधिकारिक नामावली भने सार्वजनिक गरेको छैन।

युद्धको पृष्ठभूमि

यो द्वन्द्व सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि गरिएको आकस्मिक आक्रमणबाट सुरु भएको थियो, जसमा करिब १,२०० इजरायली नागरिक मारिएका थिए भने २५१ जना अपहरणमा परेका थिए। त्यसयता इजरायली आक्रमणमा गाजामा ६७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमा आधा संख्या महिला र बालबालिका रहेको उल्लेख गरिएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार करिब २० लाख जनसंख्या रहेको गाजामा ९० प्रतिशतभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।

इजरायली तथ्यांक अनुसार हाल गाजामा ४८ जना बन्धकहरू रहेका छन्, जसमा एक मृत सैनिकको शवसमेत समावेश छ। अपहरणमा परेकामध्ये कम्तीमा २५ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ।

आज विपिन जोशी अपहरणमा परेको ३३७ औं दिन हो। उनको अवस्थाबारे अझै स्पष्ट जानकारी सार्वजनिक भइसकेको छैन। नेपाल सरकारले विपिनको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै आवश्यक पहल जारी राखेको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like