- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्। उनले आज बिहान नेपाली सेनाका अधिकारी तथा उच्चपदस्थ सरकारी कर्मचारीहरूको टोलीसहित आयोजनास्थलको अवलोकन गरेकी हुन्।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिँदै निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिइन्। उनले समयमै आयोजना सम्पन्न गर्न आवश्यक सहयोग सरकारको तर्फबाट उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरिन्।
काठमाडौं–तराई द्रुतमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको छ। करिब ७१ किलोमिटर लामो यो मार्गले काठमाडौं उपत्यकालाई बाराको निजगढसँग जोड्नेछ, जसलाई रणनीतिक तथा आर्थिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
द्रुतमार्गको निर्माण कार्य नेपाली सेनाको व्यवस्थापन र निगरानीमा भइरहेको छ। २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिए पनि आयोजना नीतिगत जटिलता, कठिन भौगोलिक अवस्था र जग्गा अधिग्रहणजस्ता चुनौतीका कारण प्रभावित हुँदै आएको छ।
आयोजनाको २०८२ असार मसान्तसम्मको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ।