ठमेलबाट पक्राउ परेका २० विदेशी महिला डिपोर्ट: यौन धन्दामा संलग्न गिरोहको खुलासा
-
By
समाचार कक्ष
-
Apr Sun, 2026
-
in
समाचार
काठमाडौँको ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। काठमाडौँ महानगरपालिका-२६ स्थित फायरचोक क्षेत्रबाट चैत ११ गते पक्राउ परेका ती महिलामाथि प्रहरीले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा उनीहरूले ठमेल क्षेत्रमा पुरुषहरूलाई बाटो छेकेर अश्लील क्रियाकलापका लागि प्रस्ताव राख्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ। यस आधारमा उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको थियो।
जिल्ला प्रशासन कार्यालयले उक्त मुद्दामा प्रत्येकलाई ५ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई ले जानकारी दिएका छन्।
उक्त कारबाहीपछि प्रहरीले उनीहरूलाई थप प्रक्रिया अगाडि बढाउन अध्यागमन विभागमा पठाएको थियो। विभागले अध्यागमन ऐनअनुसार उनीहरूलाई देश निकाला गर्ने निर्णय गर्दै नेपाल प्रवेशमा प्रतिबन्ध समेत लगाएको छ।
प्रहरी अनुसन्धानले ती महिलाहरूलाई एक गिरोहले नेपाल ल्याएर ठमेलमा यौन व्यवसायमा संलग्न गराएको निष्कर्ष निकालेको छ।