- by समाचार कक्ष
- Mar 06, 2025
रसुवामा आएको बाढीबाट घाइते भएर काठमाडौं ल्याइने बिरामीको उपचारका लागि वीर अस्पतालले विशेष तयारी गरेको छ। ठूलो संख्यामा घाइते आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अस्पतालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत तथा आवश्यक औषधिको व्यवस्थापन गरेको जनाएको छ।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीका घाइते अस्पताल पुग्नेबित्तिकै ‘ट्रायाज’ प्रणालीमार्फत स्वास्थ्य अवस्था मूल्यांकन गरिनेछ। सामान्य अवस्थाका बिरामीलाई ग्रिन, मध्यम अवस्थाका बिरामीलाई यल्लो र गम्भीर अवस्थाका बिरामीलाई रेड क्षेत्रमा राखेर उपचार गरिनेछ।
गम्भीर अवस्थाका बिरामीका लागि यल्लो क्षेत्रमा २७ वटा बेड तयारी अवस्थामा राखिएको छ। बिरामीको चाप बढेमा ग्रिन क्षेत्रलाई समेत यल्लो क्षेत्रमा परिवर्तन गरी थप १० देखि १५ जना बिरामीलाई व्यवस्थापन गर्न सकिने अस्पतालले जनाएको छ।
आईसीयूमा समेत बेड खाली राखिएको छ भने करिब १० वटा भेन्टिलेटर तयारी अवस्थामा छन्। निर्देशक नेपालका अनुसार तत्काल करिब १०० जना गम्भीर बिरामीसम्म व्यवस्थापन गर्न सक्ने गरी अस्पतालले तयारी गरेको छ।
आकस्मिक औषधि तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पनि तयारी अवस्थामा राखिएको छ। सम्भावित ठूलो संख्यामा घाइते आउने अवस्थालाई ध्यानमा राख्दै रक्त व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ। अस्पतालको रक्त बैंकमा करिब १५० पाउन्ड रगत तयारी अवस्थामा राखिएको बताइएको छ।
नियमित उपचारका लागि आवश्यक पर्ने केही रगतको प्रयोगसमेत तत्कालका लागि नियन्त्रण गरी आकस्मिक बिरामीका लागि प्राथमिकतामा राखिएको छ। अवस्था थप गम्भीर भएर एकैपटक ठूलो संख्यामा बिरामी आएमा वीर अस्पतालले औपचारिक रूपमा ‘डिजास्टर’ घोषणा गरी सबै संयन्त्र पूर्ण रूपमा सक्रिय गर्ने तयारी गरेको छ।