राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले महिला नेतृहरूसँग अन्तर्वार्ता लिँदा उनीहरूको रूप–रङ र बाह्य प्रस्तुतीलाई प्राथमिकता दिने प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी धितालले सामाजिक सञ्जालमार्फत यस्तो व्यवहारले महिलालाई गम्भीर विषयवस्तुबाट अलग गर्दै वस्तुकरण गर्ने काम गरिरहेको आरोप लगाएकी हुन्।
उनले विशेषगरी युवा महिला नेतृहरूसँग संवाद सुरु गर्दा ‘राम्री हुनुहुन्छ’ वा ‘चिटिक्क परेर आउनुभएको छ’ जस्ता टिप्पणी गर्ने अभ्यासप्रति आपत्ति जनाउँदै यसले व्यक्तिगत प्रशंसा जस्तो देखिए पनि संरचनागत रूपमा महिलालाई मुद्दाभन्दा बाहिर धकेल्ने काम गर्ने बताएकी छन्।
धितालका अनुसार बाह्य सौन्दर्यमा केन्द्रित भाषा प्रयोग गर्दा महिलाको आवाज कमजोर हुने, उठाइएका मुद्दा ओझेलमा पर्ने र सार्वजनिक बहसको स्तर नै खस्किने खतरा रहन्छ। उनले सञ्चारमाध्यमलाई अझ गहिरा, विचारशील र सशक्त प्रश्नहरू उठाउन आग्रह गरेकी छन्।
उनले मुख्यधारा मिडिया र युट्युब च्यानलहरूबीचको प्रतिस्पर्धा प्रश्नको गुणस्तरले निर्धारण हुने उल्लेख गर्दै आवश्यक परे नयाँ प्लेटफर्महरूबाट पनि सिक्नुपर्ने धारणा राखिन्। साथै, आफूहरू गम्भीर प्रश्नहरूको जवाफ दिन सधैँ तयार रहेको उनले बताइन्।
धितालले महिला नेतृहरूलाई पनि सचेत रहन आग्रह गर्दै केवल बाह्य प्रशंसामा रमाउनु भन्दा आफ्नो भूमिकाप्रति जिम्मेवार बन्नुपर्ने उल्लेख गरिन्। सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतीलाई वस्तुकरण गर्ने प्रवृत्तिले लैङ्गिक समानताको अभियानलाई कमजोर पार्ने उनको निष्कर्ष छ।