काठमाडौं - देशभर बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बिहीबारसम्म तराईका विभिन्न जिल्लामा ‘लु’ चल्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जनाएको छ। धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री तथा काठमाडौंमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिनसम्म गर्मीको प्रभाव कायम रहने सम्भावना छ। उनले दिउँसो अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, चिसो र हावादार स्थानमा बस्न तथा पर्याप्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन्।
विभागले कञ्चनपुर, कैलाली, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायत तराईका जिल्लामा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरेको छ। त्यस्तै पहाडी तथा तराईका अन्य धेरै जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ।
तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने विभागले जनाएको छ। बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।