Thursday, April 16, 2026

तीन पूर्वप्रधानमन्त्रीमाथि सीआईबी अनुसन्धान, दीपक खड्का नियन्त्रणमा


काठमाडौँ । तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले उनीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोतबारे छानबिन अघि बढाएको हो।

गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान जारी छ। सो क्रममा पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ। खड्कामाथि अनुसन्धानको पहल सम्पत्ति शुद्धीकरण विभागले गरेको पत्राचारको आधारमा गरिएको हो।

भदौ २४ मा जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा आगजनी गर्दा घरमा रहेका डलर र नेपाली रुपैयाँ जलेको अवस्थामा भेटिएको थियो। त्यसैगरी पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो।

यसैबीच, स्थानीय प्रशासनले पूर्वप्रधानमन्त्री देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ। भत्काएर नयाँ संरचना निर्माण गर्न खोजिँदै थियो, तर जिल्ला प्रशासन कार्यालयको निर्देशनमा काम रोकिएको हो। प्रहरीले त्यहाँ कार्यरत कामदारलाई हटाएको र सम्पत्ति शुद्धीकरण विभागले जलेको रकम संकलन गरेको बताएको छ।

प्रहरीले अनुसन्धानको क्रममा सम्पत्तिका सबै पक्षमा निगरानी राख्दै थप कदम चाल्ने तयारी गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like