- by समाचार कक्ष
- Mar 06, 2025
६ भदौ, काठमाडौं ।
शिक्षा विधेयकमा आफ्ना मागहरू समावेश नगरिएको भन्दै नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
कार्यक्रमअनुसार, भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री तथा विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण पत्र बुझाइनेछ।
त्यसपछि भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाइने र प्रतिनिधिमूलक रूपमा दुई घण्टे धर्ना आयोजना गरिनेछ।
महासंघले भदौ १३ गते देशभरका सबै पालिकामा र भदौ १५ गते जिल्लास्तरीय समन्वय एकाइहरूमा ध्यानाकर्षण पत्र बुझाई दुई घण्टे धर्ना दिने कार्यक्रमसमेत सार्वजनिक गरेको छ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आन्दोलनको दोस्रो चरण भदौ २१ गतेदेखि सुरु हुनेछ, जसमा अवरोधात्मक तथा विरोध प्रदर्शनसहितका थप कडा कार्यक्रमहरू ल्याइनेछ। सुवेदीले भने, “०८१/८२ को आन्दोलनभन्दा अझै कडा संघर्षमा उत्रनेछौं।”
यसअघि, गत चैत २० देखि २९ सम्म महासंघले विद्यालय बन्द गराउँदै काठमाडौं केन्द्रित आन्दोलन संचालन गरेको थियो।