Thursday, April 16, 2026

स्वार्थ बाझिएको आरोप: श्रममन्त्री साह हटाउने तयारीमा प्रधानमन्त्री


काठमाडौँ, २६ चैत - प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी थालेका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मन्त्री साहको विगतदेखि नै विवादित छवि रहँदै आएको र मन्त्री नियुक्त भएपछि पनि शंकास्पद गतिविधिमा संलग्न भएको संकेत पाएपछि यस्तो निर्णयतर्फ कदम चालिएको हो।

स्रोतले जनाएअनुसार साहका केही कामहरू मन्त्रालयको जिम्मेवारी र स्वार्थसँग बाझिने खालका देखिएका छन्। मन्त्री बनेको करिब दुई हप्ता नपुग्दै उनलाई हटाउने विषयमा गम्भीर छलफल भइरहेको बताइएको छ।

साह यसअघि पनि शैक्षिक कन्सल्टेन्सीसम्बन्धी विवादमा मुछिएका थिए। विदेश पठाउने संस्थासँग सम्बन्धित गतिविधि र व्यक्तिगत भेटघाटबारे समेत प्रधानमन्त्रीसमक्ष जानकारी पुगेको स्रोतको दाबी छ।

यसैबीच, उनकी श्रीमती जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा बैठकमा सहभागी भएको विषयले पनि थप विवाद सिर्जना गरेको छ। उनी यसअघि पटक–पटक अनुपस्थित भएको कारण पदबाट हटाइएकी भए पनि पुनः बैठकमा सहभागी भएको विषय प्रश्नको घेरामा परेको छ।

यी सबै घटनाक्रमका आधारमा स्वार्थ बाझिने अवस्था सिर्जना भएको निष्कर्षसहित मन्त्री साहलाई पदमुक्त गर्ने तयारी भइरहेको जनाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like