- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि संसद् बैठकमा पहिलोपटक बोल्दा झूटो तथ्य प्रस्तुत गरेको आरोप लागेको छ। कांग्रेसका समानुपातिक सांसद कालीबहादुर सहकारीले सुनारको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।
सुनारले हिजोको बैठकमा देशभर दलितहरूमाथि भएका विभेदका घटनाहरूको विवरण प्रस्तुत गर्दै कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ मा मना सार्की नामक व्यक्तिलाई हत्या गरिएको दाबी गरेका थिए। तर सहकारीले यस दाबीलाई असत्य ठहराउँदै सदनमा विरोध व्यक्त गरे।
सहकारीले भने, “संसदमा जे बोल्ने स्वतन्त्रता छ, तर सत्य कुरा बोलिनुपर्छ। नरहरिनाथ–५ मेरो जन्मस्थान हो, त्यहाँ दलितको उपस्थिति छैन। यस्तो कुरा कसरी सदनमा आए, मलाई घोर आपत्ति छ।”
सहकारीले सुनारको अभिव्यक्तिलाई रेकर्डबाट हटाउन सभामुख डीपी अर्यालसँग माग गरे, तर कुनै प्रतिक्रिया आएन।
विवादपछि सुनारले बैठकमै स्पष्टीकरण दिँदै घटना वडा नम्बर ५ मा नभई वडा नम्बर ९ मा भएको बताए र आफ्नो त्रुटिका लागि माफी मागे।