Thursday, July 17, 2025

‘सर्वोच्चको रिक्त न्यायाधीश तत्काल सिफारिस गरियोस्’:बार एसोसिएसन


काठमाडौँ। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा रिक्त एक जना न्यायाधीशको तत्काल पदपूर्ति गर्न माग गरेको छ ।

कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले एक विज्ञप्ति जारी गरी सर्वोच्चमा चार जना न्यायाधीशको पद रिक्त रहे पनि तीन जनाको मात्रै नियुक्ति भएको भन्दै बाँकी एक जनाको पनि तत्काल नियुक्ति गर्न माग गरेको हो ।

तीन जनाको सिफारिस गर्दा एकजनाको पद खाली राख्नुको कुनै औचित्य स्थापित हुन नसकेको भन्दै बारले रिक्त हुनुभन्दा एक महिनाअघि नै सिफारिस हुनुपर्नेमा त्यसको समेत पालना हुन नसकेको भन्दै न्यायपरिषद्को ध्यानाकर्षण गराएको हो । उसले संविधानमा भएको बाध्यात्मक प्रावधानलाई न्यायपरिषद्ले ऐच्छिकमा रूपान्तरण गरेको भन्दै आपत्ति जनाएको छ ।

बारले भनेको छ, ‘सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति सिफारिस गर्दा कानून व्यवसायीहरूको सम्मानजनक प्रतिनिधित्व हुने गरी नियुक्ति सिफारिस गर्न न्याय परिषद् समक्ष आग्रह गर्दछौँ ।’

न्यायाधीश नियुक्तिमा समानुपातिक, समावेशी सिद्धान्त अपनाउनुपर्नेमा न्यायपरिषदले ध्यान नदिएको औँल्याउँदै विज्ञप्तिमा भनेको छ, ‘न्यायाधीश नियुक्तिमा बारलाई कमजोर पार्ने रणनीति अख्तियार नगर्न न्याय परिषद्समक्ष अनुरोध गर्दछौँ ।’

बारले न्यायपरिषद नियमावली संशोधन र बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको मुद्दा छिटोछरितो रूपमा टुङ्ग्याउन पनि ध्यानाकर्षण गराएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like