Monday, March 2, 2026

सर्लाहीमा मध्यराति भीषण दुर्घटना: तीन मोटरसाइकल ठोक्किँदा दुई युवाको ज्यान गयो


७ फागुन, मलंगवा। सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१३ मा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राई का अनुसार गएराति करिब ८ बजे भएको उक्त दुर्घटनामा हरिपुर्वा नगरपालिका–९ निवासी करिब ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान रायको ज्यान गएको हो।

दुर्घटनास्थलमै अचेत अवस्थामा फेला परेका दुवैलाई तत्काल मलंगवास्थित प्रादेशिक अस्पताल मलंगवा मा उपचारका लागि पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थानका २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन्। घटनाको थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ईश्वरपुर नगरपालिका–१३ अन्तर्गत पर्ने बाँके–संग्रामपुर सडकखण्डको ठिल्ला नजिक भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा एउटै स्थानमा फेला परेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like