- by समाचार कक्ष
- Mar 06, 2025
सर्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राईटरखोरमा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार सोमबार राति करिब ८:१५ बजे मियाँखोरबाट सुकनाहातर्फ जाँदै गरेको बीआर ३० ई ६९०२ नम्बरको भारतीय मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा साइकल चालक ईश्वरपुर–२ राईटरखोरका किसुन देव साह गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
त्यसैगरी, मोटरसाइकलको पछाडि सवार १४ वर्षीय बिक्की कुमार राउत सामान्य घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक सोही स्थानका मनिष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।