सर्लाही - सशस्त्र प्रहरी बल नेपालको सक्रियता बढेसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद हुने क्रम तीव्र बनेको छ। पछिल्लो कारबाहीमा पर्सा क्षेत्रबाट करिब ३२ लाख ८३ हजार ७५० रुपैयाँ बराबरका अवैध सामान र सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
भारतबाट भन्सार छली गरी सामान भित्र्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले कारबाही गरेको हो। टोलीले सर्लाहीको पर्सा–५ स्थित सीमाना नाकाबाट मोटरसाइकलमार्फत ल्याइएका सामान दुई वटा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो।
बरामद सामानमध्ये १ हजार ७८५ केजी भारतीय फूलको अनुमानित मूल्य ७ लाख १४ हजार रुपैयाँ रहेको छ भने भन्सार छलीका कपडाको मूल्य ८ लाख ८३ हजार ७५० रुपैयाँ आकलन गरिएको छ। साथै नियन्त्रणमा लिइएका दुई पिकअप गाडी र चार मोटरसाइकलको मूल्य करिब २४ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएका सबै सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाउँदै अवैध गतिविधि नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ।