Monday, March 2, 2026

फागुन २१ को निर्वाचनका लागि ३ लाख ४१ हजार सुरक्षाकर्मी परिचालन, सेना पहिलो घेरामै राखिने


काठमाडौं - आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको छ। स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यसहित निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार सुरक्षाकर्मी खटाइएको हो।

परिचालन हुने सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ७९ हजार ७ सय २७, सशस्त्र प्रहरी बलका ३४ हजार ५ सय ७६, नेपाल प्रहरीका ७५ हजार ७ सय ९७, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९ सय २१ तथा म्यादी प्रहरी १ लाख ४९ हजार ९० जना रहेका छन्।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक आयुक्त सगुन शमशेर जबराले हालसम्म देशभर शान्ति–सुरक्षाको अवस्था सन्तोषजनक रहेको र कुनै उल्लेखनीय सुरक्षा चुनौती नदेखिएको बताएका छन्। आयोगले नियमित रूपमा सुरक्षा निकायका प्रमुखसँग समन्वय गर्दै सुरक्षा अवस्थाबारे जानकारी लिँदै आएको पनि उनले उल्लेख गरे।

यसपटक निर्वाचनको वातावरण सुरक्षित र विश्वसनीय बनाउन विगतभन्दा अघि नै नेपाली सेना परिचालन गर्ने निर्णय गरिएको हो। अघिल्ला निर्वाचनमा सेना तेस्रो घेरामा राखिँदा प्रभावकारिता कम भएको भन्ने सुझावका आधारमा आवश्यक परे पहिलो घेरामै खटाउन सकिने गरी सुरक्षा मोडालिटी तय गरिएको जनाइएको छ।

निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा सेना प्रयोगका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते सम्पन्न हुँदैछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like