३ वैशाख, काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको सभापति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ भने सत्तापक्ष र विपक्षी दलहरू आ–आफ्नो रणनीति तय गर्न छुट्टाछुट्टै छलफलमा जुटेका छन्।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। समितिका सभापतिको निर्वाचन शुक्रबार हुने तय छ।
संसदीय समितिहरूलाई ‘मिनी संसद्’का रूपमा लिइने भएकाले सभापति चयनलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। समितिका सदस्यहरू यसअघि नै मनोनीत भइसकेकाले तिनैमध्येबाट सभापति चयन गरिनेछ।
संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेकाले मतदान भएमा अधिकांश समितिको सभापति उसैले जित्ने आकलन गरिएको छ। यस्तो अवस्थामा विपक्षी दलहरू उम्मेदवारी दिने वा साझा रणनीति बनाउने विषयमा छलफल गरिरहेका छन्।
नेकपा एमालेका सांसद गुरु बरालका अनुसार विपक्षी दलहरूबीच साझा धारणा बनाउन बैठक बस्नेछ भने नेपाली कांग्रेसका सांसद भीष्म आङदाम्बेले पनि संयुक्त उम्मेदवार तय गर्ने सम्भावनाबारे छलफल भइरहेको जानकारी दिएका छन्।
उता, रास्वपाले पनि समितिका सभापति चयनसम्बन्धी रणनीति तय गर्न आजै संसदीय दलको बैठक बोलाएको छ।
प्रतिनिधिसभा अन्तर्गत दुई संयुक्तसहित कुल १२ वटा संसदीय समितिका सभापति चयन हुनेछन्। रास्वपाले अधिकांश समितिमा आफ्नो दाबी रहने संकेत दिएको छ भने लेखा समिति विपक्षीलाई दिने तयारी गरेको बताइएको छ।