- by समाचार कक्ष
- Mar 06, 2025
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको औपचारिक संरचनाभन्दा बाहिर गएर गतिविधि गरेको आरोपमा निवर्तमान सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग्ने तयारी गरेको छ।
खड्काले पार्टीको लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयलाई लिएर कांग्रेस नेतृत्व असन्तुष्ट देखिएको हो। यसै सन्दर्भमा केन्द्रीय अनुशासन समितिको बुधबार बस्ने बैठकले उनीसँग औपचारिक स्पष्टीकरण माग्ने निर्णय गर्ने एक शीर्ष नेताले जानकारी दिएका छन्।
यसअघि खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका थिए। उक्त कदमपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको थियो।
गत १८ चैतमा बसेको अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको नाममा वक्तव्य जारी गरिएमा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो।
त्यसअघि, १४ चैतमा खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोध गर्दै विज्ञप्ति जारी गरेका थिए। साथै, उनले १७ चैतमा पनि कार्यवाहक सभापतिको हैसियतमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिनसम्म छलफल गरेका थिए।