Monday, March 2, 2026

स्कटल्यान्डसँग भारी हार, महिला टी-२० विश्वकप छनोटबाट नेपाल बाहिरियो


१२ माघ, काठमाडौं - आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणमै नेपाली महिला क्रिकेट टोलीको यात्रा टुंगिएको छ। सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार व्यहोरेसँगै नेपाल सुपर सिक्समा पुग्ने दौडबाट बाहिरिएको हो।

१४१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै ६८ रन बनाउँदा ९ विकेट गुमाएर संघर्षपूर्ण अवस्थामा इनिङ समाप्त भयो। खेलका क्रममा कप्तान इन्दु बर्मा चोटका कारण सातौं ओभरमै मैदान छाड्न बाध्य भइन् र त्यसपछि ब्याटिङमा फर्किन सकिनन्।

नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन जोड्दा रुबिना क्षेत्रीले १० रन बनाइन्। स्कटल्यान्डका बलरमध्ये अब्ताहा मकसुदले ३ विकेट लिइन् भने कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ विकेट हात पारिन्। ओलिभिया बेल र रचेल स्लेटरले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमा सीमित भएको थियो। नेपालले पावरप्लेमै ३ विकेट लिँदै उत्कृष्ट सुरुवात गरे पनि अन्तिम ओभरहरूमा नियन्त्रण गुमाउँदा स्कटल्यान्डले ७९–६ को संकटबाट पुनरागमन गर्न सफल भयो।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिइन्। अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन्।

नेपालतर्फ मनीषा उपाध्यायले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरिन्। रुबिना क्षेत्रीले ३ विकेट लिँदा सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १-१ विकेट लिए।

यस छनोट प्रतियोगितामा नेपाल थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई मात्र हराउन सफल भयो। एक जितसहित नेपाल २ अंकमा सीमित रहँदै समूह चरणबाटै बाहिरियो।

यससँगै सुपर सिक्स पुग्ने ६ वटै टोलीको टुंगो लागेको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड अगाडि बढेका छन् भने समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका छन्।

सुपर सिक्सबाट शीर्ष चार टोलीले आगामी जुन महिनामा इंग्ल्याण्डमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like