Friday, April 17, 2026

स्कुल युनिफर्ममा विद्यार्थीलाई सडकमा उतार्नु ‘ह्युमन शिल्ड’ प्रयोग : निशा अधिकारीको चेतावनी


काठमाडौँ । अभिनेत्री तथा गतिशील लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारी मल्लले शान्तिपूर्ण प्रदर्शनको नाममा बालबालिकालाई ‘ह्युमन शिल्ड’ (मानवीय ढाल) को रूपमा प्रयोग गर्नु गम्भीर अपराध भएको टिप्पणी गरेकी छन्।

फेसबुकमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले जेनजी आन्दोलनका योजनाकारमाथि प्रश्न उठाइन् र सोधिन्, “स्कुल युनिफर्ममा विद्यार्थीलाई सडकमा कसले र किन प्रोत्साहन गर्‍यो?” निशाले यस प्रकारको कार्यले सुरक्षा निकाय र सर्वसाधारणमा भ्रम सिर्जना गरेको बताइन्।

उनले लेखिन् कि यदि र्‍याली साँच्चिकै शान्तिपूर्ण थियो र विद्यार्थीहरूले प्रहरीसँग कुनै भिडन्तको मनस्थिति राखेका थिएनन् भने, ह्युमन शिल्डको आवश्यकता किन परेको भन्ने स्पष्ट हुनुपर्ने प्रश्न उठ्छ। अधिकारीले आन्दोलनका क्रममा राज्य पक्षको दमनलाई जघन्य अपराधको संज्ञा दिँदै दोषीमाथि कारबाहीको माग गरेकी छन्।

निशाले कारबाहीको प्रक्रिया पहिलो दिनका योजनाकारदेखि २४ गतेका अराजक तत्त्वसम्म पुग्नुपर्नेमा जोड दिएकी छन्। उनले वर्तमान सरकारले जतिसुकै राम्रो काम गरे पनि, न्याय अधुरो रह्यो भने भविष्यमा यस्ता अराजक फर्मुला फेरि प्रयोग हुन सक्ने चेतावनी दिइन्।

साथै, अधिकारीले कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनअनुसार तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेकी छन्। उनले विपक्षी दल नेपाली कांग्रेस मौन रहेकोप्रति पनि आलोचना गर्दै सत्यको पक्षमा बोल्न डर नमान्ने नागरिकलाई आवाज उठाउन चुनौती दिएकी छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like