- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १९ चैत - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन मन्त्रालय घनिभूत छलफलमा रहेको बताएका छन्।
६९औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव भुजेलले भने, “सहकारीमा समस्या मुख्यतः सुशासनको कमी र पारदर्शिताको अभावका कारण आएको हो। हामी अहिले पनि मन्त्रीसहित बचतकर्ताको रकम कसरी फिर्ता गराउने भन्ने विषयमा समय खर्च गर्दैछौं।”
सचिव भुजेलले केही सहकारीहरूले सहकारीको मूल्यमान्यताबाट विचलन गरेको र यसको कारणले समस्या आएको उल्लेख गर्दै, मन्त्रालयले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
उनी भन्छन्, “सहकारीका सञ्चालक र व्यवस्थापकको कमजोरीले यस्तो अवस्था आएको हो। सरकारको विगतका कमी कमजोरीलाई सुधार गर्दै हामी परिणाममुखी कदम चाल्दैछौं।”
सहकारी क्षेत्रको प्रवर्द्धन र देखिएका समस्याहरू समाधान गर्न मन्त्रालयले सरोकारवालासँग समन्वय र घनिभूत छलफललाई सुदृढ गर्दै अघि बढ्ने योजना बनाएको छ।