- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको आगामी महाधिवेशनबाट रवि लामिछाने पुनः सभापतिमा निर्वाचित हुने दाबी गरेका छन् । अन्य पदमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने हालसम्म कुनै औपचारिक छलफल नभएको उनले बताएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ । असार ७ गते पार्टी स्थापना दिवससमेत पर्ने भएकाले सोही अवसर पारेर महाधिवेशन गर्न लागिएको बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ ।
चितवनलाई महाधिवेशन स्थल चयन गर्नुको कारणबारे उनले पार्टीको मुख्य आधार क्षेत्र र देशको भौगोलिक केन्द्रका रूपमा रहेको उल्लेख गरे । उनले चितवनबाट पार्टीले उल्लेखनीय जनसमर्थन पाएको र सभापति रवि लामिछानेले पनि त्यहीँबाट निर्वाचन जितेकाले उक्त स्थान उपयुक्त ठानिएको बताए ।
महाधिवेशनको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गर्ने तयारीसमेत भइरहेको उनले बताए ।
रवि लामिछाने पुनः सभापति बन्ने सम्भावनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा बुर्लाकोटीले “यसमा कुनै द्विविधा छैन” भन्दै रवि नै पुनः नेतृत्वमा आउने दाबी गरे ।
उनले पार्टीमा अन्य सक्षम नेताहरू पनि रहेको स्वीकार गर्दै अहिले पदका लागि प्रतिस्पर्धा गर्नुभन्दा पार्टीलाई एकताबद्ध बनाएर देशलाई निकास दिनु महत्त्वपूर्ण रहेको धारणा राखे ।
यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह रास्वपाको कुन पदमा रहने भन्ने विषयमा भने पार्टीभित्र अहिलेसम्म कुनै छलफल नभएको बुर्लाकोटीले स्पष्ट पारे ।