- by समाचार कक्ष
- Mar 06, 2025
प्युठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा शुक्रबार बिहान एक मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
बाँदिकोटबाट रुपन्देहीको बुटवलतर्फ जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको ‘अन टेस्ट’ जम्बो ट्राभलर मिनी बस बिहान करिब ७:२० बजे आहालखोला–चिसापानी सडक खण्डमा दुर्घटनामा परेको हो।
दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि प्युठान अस्पताल र निमतारा पोलिक्लिनिकमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये प्युठान नगरपालिका–२ क्वाडीकी ५१ वर्षीया बिमला विष्टको टाउकोमा गम्भीर चोट लागेको छ। उनको थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
घाइतेहरूमा दाङ लमहीका केसर सेजुवाल र पदमा सेजुवाल, प्युठान झिम्रुक–२ बादिकोटका प्रकाश एमसी, सुशान्त एमसी, कमला एमसी, झिम्रुक–३ आहालखोलाकी कमला केसी, रुपेश पोख्रेल, सुशीला पोख्रेल, हिरा जीसी, विशाल पोख्रेल, प्रताप एमसी, पर्वत खत्री, बिन्दोस केसी, रमिता केसी र प्रयास केसी रहेका छन्।
उनीहरूलाई टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।