- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ, २४ भदौ — हरितालिका तीजको अवसरमा पशुपति क्षेत्रमा भेला हुने भक्तजनको सहजता र सुरक्षाका लागि पशुपति क्षेत्र विकास कोषले विशेष ट्राफिक तथा पार्किङ व्यवस्थापन योजना सार्वजनिक गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा कोषले तीज मेला अवधिभर पशुपति क्षेत्रलाई सवारी निषेधित क्षेत्र घोषित गरिएको जानकारी दिएको हो।
कोषका अनुसार, सर्वोच्च अदालतको २०८० माघ ७ गतेको फैसलाअनुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भुवनेश्वरी–गौशाला हुँदै वनकालीसम्मको दर्शन मार्गमा कुनै पनि सामान्य सवारीसाधनको प्रवेश निषेध गरिएको छ। यद्यपि, दमकल, एम्बुलेन्स तथा घाटसम्म पुग्ने शववाहनका लागि भने आवश्यक छूट व्यवस्था गरिएको छ।
साथै, अदालतको आदेश कार्यान्वयनमा सबै पक्षले सहयोग गर्नुपर्ने कोषको अपिल रहेको छ।
पार्किङ व्यवस्था निम्नानुसार रहेको छ:
-
तिलगङ्गा आँखा अस्पताल क्षेत्र – सर्वसाधारण भक्तजनका सवारी साधन
-
सिफल चौर – भक्तजनका सवारी साधन
-
गुह्येश्वरी पारीका खाली स्थानहरू – भक्तजनका सवारी साधन
-
पशुपति क्षेत्र विकास कोष कार्यालय परिसर तथा अमालकोट कचहरी परिसर – कोष र पर्वसँग सम्बन्धित निकायका सवारी साधन
-
भण्डारखाल पूर्व पार्किङ क्षेत्र – सरकारी निकाय तथा विशिष्ट व्यक्तिका सवारी साधन
कोषले भक्तजनको सुविधालाई ध्यानमा राखी ट्राफिक व्यवस्थापनलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ।