- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डले हाल प्राविधिक परीक्षण गरिरहेको र सबै प्रक्रिया सफल भए आजै साँझ नतिजा प्रकाशन गर्न सकिने बताएको छ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा सार्वजनिक गर्नुअघि प्रणालीको डेमो तथा प्राविधिक परीक्षण भइरहेको छ। उनले कुनै समस्या नआए आजै नतिजा सार्वजनिक हुन सक्ने, अन्यथा भोलिसम्ममा प्रकाशन गरिने जानकारी दिए।
उनले प्राविधिक पक्षमा सामान्य समस्या देखिए पनि नतिजा प्रकाशन प्रक्रिया केही समयका लागि रोक्नुपर्ने अवस्था आउन सक्ने बताए।
यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुन आवेदन दिएका थिए।
परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४१ हजार ५६६ तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले फारम भरेका थिए। सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन्।