काठमाडौं - चीनका लागि नेपालका पूर्वराजदूतहरूले देशको परराष्ट्र नीतिलाई अझ प्रभावकारी र संवेदनशील बनाउन सरकारलाई कूटनीतिक रूपमा सक्रिय हुन आग्रह गरेका छन्।
नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा एकत्रित भएका पूर्वराजदूतहरूले बदलिँदो भू–राजनीतिक परिस्थितिले नेपालको राष्ट्रिय हितमा थप चुनौती सिर्जना गरेको भन्दै सरकारलाई स्पष्ट नीति र सक्रिय पहल आवश्यक रहेको सुझाव दिएका हुन्।
राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, डा. महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकारश्रेष्ठ र डा. कृष्णप्रसाद ओलीद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा नेपालले “एक चीन नीति” प्रति आफ्नो निरन्तर प्रतिबद्धता कायम राख्नुपर्ने र नेपाली भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने अडानमा दृढ रहनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायत नेपाल–चीनबीचका आर्थिक, सांस्कृतिक, शैक्षिक तथा पूर्वाधारसम्बन्धी परियोजनाहरूलाई छिटो कार्यान्वयनमा ल्याउन सरकारलाई विशेष ध्यान दिन आग्रह गरिएको छ।
पूर्वराजदूतहरूले चीनले नेपालको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै पञ्चशीलका सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भू–भाग भएको पुनः स्मरण गराउँदै नेपालले आफ्नो सार्वभौमिकता र सीमा रक्षाका विषयमा तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। साथै, नेपाल सरकारले यस विषयमा लिएको अडानको पनि सराहना गरिएको छ।
मध्यपूर्वमा बढ्दो तनावले नेपालमा प्रत्यक्ष तथा परोक्ष प्रभाव पारिरहेको उल्लेख गर्दै पूर्वराजदूतहरूले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालले अत्यन्त सावधानीपूर्वक कूटनीतिक कदम चाल्नुपर्ने सुझाव दिएका छन्।