- by समाचार कक्ष
- Mar 06, 2025
माघ २३, काठमाडौं । आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तयारीमा छिन्।
गत मंगलबार मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृति दिएको थियो। राष्ट्रियसभाको १७औँ अधिवेशनमा दर्ता भएको यो विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको थियो।
सम्भावित कार्यसूची अनुसार, प्रधानमन्त्री कार्कीले समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछिन्।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठक अपराह्न १:१५ बजे सुरु हुनेछ। यसैबीच, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११:०० बजे बस्नेछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने जानकारी समिति सभापति तुलसाकुमारी दाहालले गराएकी छन्।