Thursday, April 16, 2026

पेरिसडाँडामा युवाको दबाब: प्रचण्ड-माधवलाई बिदा, तेस्रो पुस्तालाई नेतृत्व सुम्पन माग


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टीभित्र नेतृत्व हस्तान्तरणको विषयमा बहस तीव्र बनेको छ। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका इन्चार्ज तथा पदाधिकारीहरूको बैठकमा युवा नेताहरूले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई नेतृत्वबाट बिदा भएर तेस्रो पुस्तालाई अवसर दिन सुझाव दिएका छन्।

बैठकमा सहभागी युवा नेताहरूले वर्तमान राजनीतिक प्रतिस्पर्धामा पुरानो पुस्ताले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने भन्दै नयाँ पुस्तालाई अघि सार्नुपर्ने धारणा राखेका थिए। विशेषगरी बालेन शाहजस्ता नयाँ नेतृत्वसँग प्रतिस्पर्धा गर्न तेस्रो पुस्ता आवश्यक रहेको उनीहरूको तर्क थियो।

वाइसिएल अध्यक्ष पुष्प ओली, अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापालगायतले शीर्ष नेतृत्वको योगदानको सम्मान गर्दै अब पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। केही सहभागीले प्रचण्डलाई पार्टीको दैनिक राजनीतिभन्दा माथि उठेर राष्ट्रिय अभिभावकको भूमिकामा रहन सुझाव दिएका थिए।

बैठकमा आगामी संसदीय दलको नेतृत्वका लागि नयाँ अनुहार अघि सार्ने प्रस्ताव पनि आएको छ। सल्यानबाट निर्वाचित रमेश मल्ल, रुकुम पश्चिमका गोपाल शर्मा र सिन्धुपाल्चोकका युवराज दुलालमध्येबाट दलको नेता, उपनेता तथा प्रमुख सचेतक चयन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको थियो।

साथै, बैठकमा पार्टीको संरचना सुधारको विषय पनि उठाइएको छ। जम्बो केन्द्रीय समितिलाई भंग गरी सानो र प्रभावकारी बनाउने, तथा निर्वाचनमा पार्टीविरुद्ध मतदान गर्ने वा निष्क्रिय रहने कार्यकर्ताहरूको पहिचान गरी कारबाही गर्नुपर्ने धारणा व्यक्त गरिएको एक सहभागीले बताए।

युवा नेताहरूले चाँडो महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने र हालको चुनावी परिणामको जिम्मेवारी लिँदै शीर्ष नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्षसमेत बैठकमा प्रस्तुत गरिएको थियो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like