- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपालाई सबैभन्दा नयाँ र दूरदर्शी पार्टी भएको दाबी गरेका छन्।
पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान परिस्थितिअनुसार पार्टीले नयाँ घोषणापत्र ल्याएर संकल्प पूरा गरेको बताए। उनले भने,
“हामी सबैभन्दा नयाँ पार्टी हौं र सबैभन्दा स्पष्ट भिजन भएको पार्टी हौं। अहिले हाम्रो नेतृत्वमा नेताहरूको ठूलो जमात केन्द्रित भएको छ। प्रारम्भमा युवाहरूमा अलि भ्रम थियो, किनकि नेपाली कम्युनिस्ट पार्टीप्रति विभिन्न प्रचार चलाइएको थियो – माओवादी भनेर, तीन वटा पार्टी, तीन नेता भनेर।”
उनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले भ्रष्टाचार विरोधी अभियान र भ्रष्टाचारी संरक्षण गर्ने दुबै पक्षमा समान प्रचार गरेको आरोप पनि लगाए। प्रचण्डले थपे, “सत्ता पक्षमा हुने र प्रतिपक्षमा हुने दुबै समान हुन् भन्ने भ्रम युवाहरूलाई दिइएको थियो। तर अब जेनजी आन्दोलनका युवाहरूले हाम्रो विचार, मुद्दा र नेतृत्वसँग मेल खाने पार्टी नेकपा नै हो भन्ने विश्वास गरिसकेका छन्।”
उनले हजारौं युवाहरू हालसालै नेकपामा प्रवेश गरिरहेको तथ्य पनि जानकारी दिए।