- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँमा औषधिको मूल्यवृद्धि सम्बन्धी विवाद चर्किएपछि सरकार सक्रिय देखिएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाहीस्वरूप स्वास्थ्य मन्त्रालयमा तानिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतास्तरीय निर्णयमार्फत उनलाई बिहीबार राति मन्त्रालयमा तानिएको हो। यस कदमलाई औषधि मूल्यवृद्धि प्रकरणमा प्रारम्भिक कारबाहीका रूपमा हेरिएको छ।
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले औषधिको मूल्यवृद्धिबारे छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। सोही निर्देशनअनुसार स्वास्थ्य सचिव विकास देवकोटालाई तीन सदस्यीय विज्ञसहितको छानबिन समिति गठन गर्न भनिएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा सात दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिइएको स्रोतले जनाएको छ। निर्देशनमा औषधि मूल्य निर्धारण प्रक्रिया, मूल्यवृद्धिको कारण तथा सम्भावित अनियमिततामा संलग्न पक्षहरूबारे स्पष्ट विवरण पेश गर्न भनिएको छ।
औषधिको मूल्यवृद्धि विषय केही दिनअघि प्रतिनिधिसभामा समेत उठेको थियो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले अनधिकृत मूल्यवृद्धिबारे प्रश्न उठाउँदै यसमा ठूलो आर्थिक अनियमितता हुनसक्ने आशंका व्यक्त गरेका थिए।
उनले महालेखा परीक्षकको प्रतिवेदनलाई आधार बनाउँदै औषधि व्यवस्थापन प्रणालीमा गम्भीर त्रुटि र अनियमितता भएको दाबी गरेका छन्।
सरकारले यस प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाएको छ, जसले आगामी दिनमा थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।