- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँमा आयोजित एक राष्ट्रिय स्वास्थ्य सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य नीति अनुमानका आधारमा होइन, प्रमाण र तथ्यका आधारमा निर्माण हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले स्वास्थ्य अनुसन्धान अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको स्पष्ट पारे।
उनका अनुसार स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन अनुसन्धान, सुशासन, प्रमाण, निर्णय प्रक्रिया र कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ। यी पाँच आधारलाई सँगै लैजान सके मात्र दिगो र प्रभावकारी स्वास्थ्य नीति निर्माण सम्भव हुने उनको भनाइ थियो।
सचिव देवकोटाले विश्वभर फैलिँदै गएका संक्रामक तथा नसर्ने रोग, जलवायु परिवर्तनका असर र स्वास्थ्य सेवामा देखिएको असमानता जस्ता चुनौती समाधान गर्न प्रमाणमा आधारित नीति निर्माण अझ महत्वपूर्ण भएको बताए।
उनले सुशासनलाई बलियो स्वास्थ्य प्रणालीको आधारस्तम्भका रूपमा उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र विधिको शासन अनिवार्य हुनेमा जोड दिए। उनका अनुसार स्वास्थ्य सेवा प्रभावकारी, समतामूलक र समयसापेक्ष हुनुपर्छ।
सचिव देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचको दूरी घटाउन अनुसन्धानका निष्कर्षलाई व्यवहारमा लागू गर्ने प्रक्रियालाई तीव्र बनाउनुपर्ने आवश्यकता पनि औंल्याए।