- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम आन्दोलन सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले २०७४ सालमा एमालेसँग मिलेर नेकपा निर्माण गरिएको भए पनि नेतृत्वको गलत कार्यशैलीका कारण एकता टिकाउन नसकेको स्मरण गराए। प्रचण्डले भने, “हामीले नेपालका वामपन्थी कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने उद्देश्य राखेका थियौं। हाम्रो भावना, विचार र उद्देश्य सही थियो, तर नेतृत्वको सोचले एकता बचाउन सकेन।”
प्रचण्डले जेनजी आन्दोलनपछिका परिस्थितिले फेरि वामपन्थी, देशभक्त, समाजवादी र कम्युनिस्टहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता बढाएको बताए।
उनले एमालेभित्र केही नेताहरूको विद्रोह बढिरहेको र त्यसले एकताको झन्डा उठाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। “निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ। हाम्रो प्रगति निरन्तर हुँदैछ। हामी एक नम्बर पार्टी बन्ने सम्भावना राख्छौं र आगामी सरकारमा हाम्रो भूमिका महत्त्वपूर्ण हुनेछ,” उनले बताए।