Sunday, April 19, 2026

नेपाल–बेलायत सहकार्यमा नयाँ गति: शिक्षामन्त्री पोखरेल र राजदूत फेनबीच अर्थपूर्ण संवाद


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयसँगै शिक्षा र खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्नेबारे छलफल केन्द्रित रहेको थियो।

दुवै पक्षबीच विशेषगरी शिक्षा क्षेत्रमा बेलायत सरकारले प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिने, साथै नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने योजना बनाएको अटिजम विद्यालयका लागि सहकार्य गर्ने विषयमा विचार आदान–प्रदान भएको छ। शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापनका विषयमा समेत परामर्श गरिएको थियो।

भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा सुधार, शिक्षक विकास तथा अटिजम शिक्षाका क्षेत्रमा बेलायत सरकारको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे।

त्यस्तै, राजदूत फेनले नेपालको शिक्षा, खेलकुदलगायत विभिन्न क्षेत्रमा विगतदेखि रहँदै आएको सहकार्यलाई अझ सशक्त बनाउन बेलायत सरकार प्रतिबद्ध रहेको बताए।

भेटवार्तामा दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने, शिक्षक विकासमा सहकार्य गर्ने तथा नेपालमा ट्रान्सनेशनल शिक्षाको सम्भावनाबारे पनि सकारात्मक छलफल भएको जनाइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like