- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । गगन कुमार थापाले सुकुम्वासी व्यवस्थापनका विषयमा स्पष्ट धारणा राख्दै वास्तविक भूमिहीनलाई न्याय दिनुपर्ने र झुटो दाबी गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान र प्रचलित कानुनले भूमिहीन दलित तथा सुकुम्वासीहरूको अधिकार सुनिश्चित गरिसकेको उल्लेख गरे। नदी किनारमा बसोबास गर्ने नागरिकहरूको हकमा पनि राज्यले वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
उनले सम्पत्ति लुकाएर सुकुम्वासीको नाममा बस्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाउँदै त्यस्ता व्यक्तिलाई सुविधा दिनु हुँदैन, बरु कानुनअनुसार कारबाही गर्नुपर्ने बताए।
भूमि सम्बन्धी विधेयकमा विगतका राजनीतिक सहमतिअनुसार व्यापक संशोधन गरिएको स्मरण गराउँदै उनले उक्त विधेयक लगभग पूर्णरूपमा पुनर्लेखन गरिएको बताए। तर, व्यवहारमा भने राज्यले सुकुम्वासीप्रति कठोर र अमानवीय व्यवहार देखाएको उनको आरोप छ।
थापाले बुद्ध पूर्णिमाको दिन संरचना भत्काउने र विद्यालयमा समेत डोजर प्रयोग गर्ने कार्यको आलोचना गर्दै यस्ता कदम अस्वीकार्य भएको बताए। उनका अनुसार वैकल्पिक व्यवस्था नगरी गरिने बल प्रयोग ‘डोजर आतंक’ जस्तै हुने र यसले नागरिकमाथि अन्याय गर्छ।
यद्यपि, सरकारका केही सकारात्मक पहलहरूमा आफ्नो दलको समर्थन रहने उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्षको रूपमा नेपाली कांग्रेसले जिम्मेवार र सशक्त भूमिका खेल्ने पनि बताएका छन्।