Thursday, April 16, 2026

नागढुङ्गा सुरुङमार्ग सञ्चालनको संघारमा: २७ अर्बको परियोजनाले यातायातमा नयाँ युग ल्याउने


काठमाडौँ । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा चिनिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम चरणमा पुगेको छ। काठमाडौँलाई धादिङसँग जोड्ने यस महत्वाकांक्षी परियोजनाले देशको यातायात पूर्वाधारमा नयाँ परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

यस परियोजनाको शिलान्यास २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। सुरुवाती अनुमानित लागत करिब २२ अर्ब रुपैयाँ रहे पनि निर्माण क्रममा देखिएका भूगर्भीय चुनौती, डिजाइन परिमार्जनलगायत कारणले लागत बढेर २७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण भएको यो सुरुङमार्गको ठेक्का जापानी कम्पनी हाजमा–आन्दो जेभीले पाएको थियो। प्रारम्भिक लक्ष्यअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना रहे पनि प्राविधिक र भौगोलिक जटिलताका कारण समय लम्बिँदै २०८२ सालसम्म आइपुगेको छ।

हाल सुरुङमार्ग निर्माण सम्पन्न भइसकेको छ भने धादिङतर्फ पहिरो नियन्त्रण तथा टोल गेट निर्माणको काम अन्तिम चरणमा जारी छ।

सुरुङमार्ग सञ्चालनको जिम्मा भने चिनियाँ कम्पनी संलग्न ज्वाइन्ट भेन्चर युक्सिन–एआरटीले पाएको छ। सडक विभागअन्तर्गतको परियोजना कार्यालयले पाँच वर्षका लागि करसहित करिब १ अर्ब १० करोड रुपैयाँमा सञ्चालन ठेक्का प्रदान गरेको हो।

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्कसमेत निर्धारण गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा प्रकाशित दरअनुसार काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअपलगायत हलुका सवारीका लागि ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्नेछ।

त्यस्तै, मिनिबस तथा साना ट्रकका लागि प्रवेशमा ११५ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ भने बस र सिङ्गल एक्सल ट्रकका लागि क्रमशः २६० र २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

भारी सवारी तथा मल्टि एक्सल ट्रकका हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

सञ्चालनमा आएपछि यस सुरुङमार्गले काठमाडौँ प्रवेश गर्ने सवारी चाप घटाउनुका साथै यात्रालाई छिटो, सुरक्षित र सहज बनाउने विश्वास गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like