- by समाचार कक्ष
- Mar 06, 2025
२९ चैत, काठमाडौं । अमेरिका र इरानबीच भएको महत्वपूर्ण वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामावादबाट फर्किएको छ।
बीबीसीका अनुसार, उक्त टोली एयर फोर्स टु विमानमार्फत अमेरिका प्रस्थान गरेको हो। पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा उनीहरू वार्ता निष्फल भएपछि त्यहाँबाट निस्किएको उल्लेख गरिएको छ।
इस्लामावाद छोड्नुअघि आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति भान्सले करिब २१ घण्टा लामो छलफल भए पनि अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिए।
यसैबीच, इरानले पनि वार्ताप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका आफ्ना ‘अत्यधिक माग’ बाट पछि हट्नुपर्ने बताएका छन्।
फार्स समाचार एजेन्सीसँग कुरा गर्दै इरानी पक्षसँग नजिक एक स्रोतले अमेरिका वार्ता छोड्ने बहाना खोजिरहेको आरोप लगाएको छ। अलजजिराका अनुसार, उक्त स्रोतले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो घट्दो प्रतिष्ठा जोगाउन वार्ता गरेको भए पनि इरानसँगको द्वन्द्व र तनावका बाबजुद आफ्ना अपेक्षा घटाउन तयार नभएको दाबी गरेको छ।
त्यसैगरी, इरानले आगामी चरणको वार्ताबारे हालसम्म कुनै योजना नरहेको पनि स्पष्ट पारेको छ।