Thursday, April 16, 2026

मध्यपूर्व द्वन्द्वको प्रत्यक्ष असर : मुख्य सिजनमै सुनसान बन्दै पोखराको पर्यटन


काठमाडौं - मध्यपूर्वमा चर्किंदो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय हवाई उडानमा परेको असरले नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा पर्यटक आगमन उल्लेखनीय रूपमा घटेको छ। विशेषतः युरोप र अमेरिकाबाट आउने पर्यटकहरूका लागि प्रमुख ट्रान्जिट केन्द्रहरू-दुबई, कतार र साउदी अरेबिया-प्रभावित हुँदा यात्रामा अवरोध सिर्जना भएको हो।

पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार पछिल्लो समय पर्यटकहरूले होटल, ट्राभल तथा ट्रेकिङ सम्बन्धी अग्रिम बुकिङहरू धमाधम रद्द गरिरहेका छन्। उनले मध्यपूर्वको अस्थिर अवस्थाले नेपालको समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताए।

नेपाल आउने अधिकांश पर्यटकहरूले मध्यपूर्वका देशहरूलाई ट्रान्जिटको रूपमा प्रयोग गर्ने भएकाले अहिलेको अवस्था थप जटिल बनेको उनले उल्लेख गरे। त्यसमाथि युद्धका कारण इन्धन अभाव र उडान व्यवस्थापनमा समस्या थपिएको छ।

होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो प्रमुख सिजन (मार्च–मे) मा समेत अपेक्षित संख्यामा पर्यटक नआएको बताए। उनका अनुसार युरोपेली पर्यटकहरू यात्रा गर्न असमर्थ छन् भने अमेरिकाले आफ्ना नागरिकका लागि जारी गरेको सुरक्षा चेतावनीका कारण अमेरिकी पर्यटकहरूको आगमन पनि न्यून भएको छ।

यद्यपि, भारतीय तथा आन्तरिक पर्यटकहरूको आवागमन भने अघिल्लो वर्षहरूकै जस्तो स्थिर रहेको जानकारी दिइएको छ।

पर्यटन व्यवसायी नेत्र पौडेलका अनुसार इजरायल, अमेरिका र इरानबीचको तनावका कारण पोखरामा हुने ट्रेकिङ र अन्य पर्यटन गतिविधिहरूका लागि गरिएको अग्रिम बुकिङहरू निरन्तर रद्द भइरहेका छन्। यसले होटल, ट्राभल एजेन्सी तथा ट्रेकिङ व्यवसायमा प्रत्यक्ष असर पारेको छ। समग्रमा, मुख्य सिजनमा समेत अपेक्षित पर्यटक आगमन हुन नसकेको उनको भनाइ छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like