- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं। पश्चिम एसियामा बढ्दो द्वन्द्वका बीच उद्धार तथा आवश्यक सहायताको तयारीका लागि ६५ हजारभन्दा बढी नेपाली नागरिकले अनलाइनमार्फत आफ्नो विवरण दर्ता गरेका छन्।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा हालसम्म ६५ हजार ८८६ नेपालीले नाम दर्ता गरिसकेका मन्त्रालयले जनाएको छ। दर्ता भएका विवरणको अध्ययन गरी आवश्यकताअनुसार थप प्रक्रिया अघि बढाइँदै गरिएको पनि मन्त्रालयको भनाइ छ।
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसिया क्षेत्रमा तनाव चर्किएको छ। यसै सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकको सम्भावित उद्धार तथा सहयोगका लागि विभागले फागुन १८ गतेदेखि उक्त अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो।
विभागकी महानिर्देशक दुपर्दा सापकोटाका अनुसार सो पोर्टलमार्फत पश्चिम एसियास्थित नेपाली दूतावासहरूबाट त्यहाँ रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने काम जारी छ।
मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीको सुरक्षा, हित र कल्याणलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र निगरानी गरिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले समस्यामा परेका नेपालीको उद्धार र सहायताका लागि सम्बन्धित नेपाली नियोगहरू निरन्तर सक्रिय रूपमा समन्वयमा रहेको बताए।
यसैबीच, परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बुधबार बसेको दोस्रो बैठकले समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य माध्यमबाट सम्पर्क गरी उनीहरूको मनोबल बढाउने तथा प्राप्त जानकारीका आधारमा प्रतिवेदन तयार पार्न पश्चिम एसियास्थित सबै नियोगलाई निर्देशन दिएको छ।
साथै, मन्त्रालयले उक्त क्षेत्रमा रहेका सबै नेपालीलाई संयमित, सतर्क र सजग रहन आग्रह गर्दै कानुनविपरीत फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड तथा आदानप्रदान नगर्नसमेत अनुरोध गरेको छ।