- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा अन्तिम चरणमा पुगेको छ।
विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधव कुमार नेपालसहितका प्रतिवादीको मुद्दामा अब कानुन व्यवसायीसँग बहस नोट माग गरेको छ। न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बहस नोट पेस गर्न निर्देशन दिएको हो।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना तथा सजाय मागदाबी गरेको छ। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा उनले पदको दुरुपयोग गरी सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप लगाइएको छ।
त्यस्तै, २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिइएको थियो। साथै, २०६६ माघ १८ गते नेपालले ठाडो आदेशमार्फत सो कम्पनीलाई अतिरिक्त जग्गा बिक्री तथा सट्टापट्टाको अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ।
उक्त प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको दाबी गर्दै अख्तियारले कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।