- by समाचार कक्ष
- Mar 06, 2025
नयाँ दिल्ली। भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागेको प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्।
भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै सम्मेलनमा विशिष्ट वक्ताको रूपमा उपस्थित हुन आग्रह गरेका हुन्।
मार्च १२ देखि १४ तारिखसम्म नयाँ दिल्लीस्थित भारत मण्डपममा सञ्चालन हुने उक्त सम्मेलनमा विश्वभरका नीति निर्माता, राजनीतिक नेतृत्व तथा बौद्धिक व्यक्तित्वहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसैगरी अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथिका रूपमा उपस्थित हुनेछन्।
कार्यक्रममा भारतका रेल तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह सहित उच्चस्तरीय सरकारी अधिकारीहरूले पनि आफ्नो धारणा राख्नेछन्।
भारतले यस सम्मेलनलाई विश्वस्तरको विचार–मन्थन गर्ने वार्षिक क्यालेन्डर कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यस वर्षको संस्करणमा हार्वर्ड, एमआईटी, अक्सफोर्ड र स्ट्यानफोर्ड जस्ता विश्वका उत्कृष्ट २५ विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूका साथै ३० भन्दा बढी देशका सांसदहरूको सहभागिता रहने बताइएको छ।
यसैगरी विज्ञान तथा प्रविधिसम्बन्धी विशेष सत्र ‘एनएक्सटी इन साइन्स’ मा प्रख्यात भौतिकशास्त्री डा. ब्रायन ग्रीन समेत सहभागी हुने आयोजकले जानकारी दिएका छन्।