Monday, June 1, 2026

मापसे गरेर सरकारी गाडी चलाएका गोदावरीका मेयरलाई जरिबाना


कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले मदिरा सेवन गरेर सरकारी गाडी चलाएको खुलेपछि ट्राफिक प्रहरीले उनीमाथि कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार मापसे गरेर सवारी चलाएको आरोपमा मेयर भट्टलाई पाँच सय रुपैयाँ र लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा थप पाँच सय रुपैयाँ गरी कुल एक हजार रुपैयाँ जरिबाना गरिएको हो।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले जरिबाना तिरेपछि नियन्त्रणमा रहेको गाडी आवश्यक कागजी प्रक्रिया पूरा गरी छाडिएको जानकारी दिए।

प्रहरीका अनुसार मेयर भट्टले आफन्तमार्फत ट्राफिक कार्यालयमा जरिबाना बुझाएका थिए। त्यसपछि कैलाली गाउँ प्रहरी चौकीमा राखिएको सरकारी गाडी छाडिएको हो।

शनिबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा क्षेत्रमा मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटनामा परेको थियो। अनियन्त्रित भएको गाडी सडकछेउको रेलिङमा ठोक्किएको बताइएको छ।

दुर्घटनामा मानवीय क्षति नभए पनि गाडीको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। स्थानीयवासीले दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार घटनास्थलमै मापसे परीक्षण हुन नसके पनि मेयर भट्टले मदिरा सेवन गरेर गाडी चलाएको स्वीकार गरेपछि कानुनी कारबाही गरिएको हो।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like