Wednesday, April 15, 2026

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको किताब जलाउने घटना: चिनियाँ दूतावास चिन्तित, प्रशासनले २४ घण्टा भित्र जवाफ माग्यो


विराटनगर - मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा अवस्थित मनमोहन विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ केही प्रतिलिपि जलाइएको घटना विवादास्पद बनेको छ।

विश्वविद्यालयका सफाइ कर्मचारीहरूले पुस्तक जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले यसप्रति गम्भीर चासो देखाउँदै परराष्ट्र मन्त्रालयमार्फत संलग्न पक्षको कारबाहीको माग गरेको छ।

विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलका अनुसार शनिबार राति सफाइको क्रममा केही किताब जलेको हो। उनी भन्छन्, “स्टोरमा रहेका किताबहरू पानीले भिजेका र धमिरा लागेका थिए, जसका कारण सफाइका क्रममा जलाइएको हो। मिडियामा आएको नियतवश जलाइएको भनाइ गलत हो। राम्रा किताबहरू अझै सुरक्षित छन्।”

पोखरेलका अनुसार ती किताबहरू मनमोहन स्मृति प्रतिष्ठानमार्फत स्थानीय संघसंस्था र क्लबमा वितरणका लागि पठाइएको थियो। भरतमोहन अधिकारी मार्फत ती किताबहरू पोलिटेक्निकमा आएको थियो, जुन पछि विश्वविद्यालयमा रूपान्तरण भएको हो।

मोरङ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विश्वविद्यालयलाई २४ घण्टाभित्र घटनाबारे विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्। उनले भने, “कति किताब जले र कुन प्रकारका किताब हुन् भन्न सक्ने अवस्थामा अहिले छैनौं। प्रशासनले यस विषयलाई गम्भीरताका साथ लिएर अनुसन्धान गरिरहेको छ।”

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like