Wednesday, April 15, 2026

मेलम्ची-इन्द्रावती किनारका बस्ती जोगाउन दुलालको माग: प्रधानमन्त्रीसँग तत्काल संरक्षणको आग्रह


काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको छलफलमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद युवराज दुलालले मेलम्ची र इन्द्रावती नदी किनारका बस्तीहरूको संरक्षण तत्काल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित छलफलमा बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने योजनाबारे विचारविमर्श गरिएको थियो।

सो क्रममा सांसद दुलालले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न समस्याहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्दै बाँदर नियन्त्रण, गुठी जग्गा समस्या समाधान, मेलम्ची–हेलम्बु सडक निर्माण तथा स्वास्थ्य बीमा सेवाको प्रभावकारी कार्यान्वयनजस्ता विषय उठाएका थिए।

विशेषगरी मेलम्ची र इन्द्रावती नदी किनारमा रहेका बस्तीहरू बाढीको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले तत्काल संरक्षणका उपायहरू अपनाउन आग्रह गरेका छन्। साथै, बाँदरको समस्या समाधानका लागि विधेयक ल्याउनुपर्ने, गुठी पीडित किसानका लागि कानुनी व्यवस्था गर्नुपर्ने र मेलम्ची–हेलम्बु सडक निर्माणका लागि स्रोत सुनिश्चित गरी पुनः ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने उनको माग रहेको छ।

उनले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका लागि सामाजिक उत्थान कार्यक्रम स्वीकृत गर्न, स्थानीय आपूर्तिकर्ताहरूको भुक्तानी सुनिश्चित गर्न तथा मध्यपहाडी लोकमार्गअन्तर्गतका सडक र पुल निर्माण कार्यलाई तीव्रता दिन पनि जोड दिएका छन्।

प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आ–आफ्ना क्षेत्रका समस्याहरू सचिवालय तथा सम्बन्धित मन्त्रालयमा पठाउन आग्रह गर्दै प्राथमिकताका आधारमा कार्यान्वयन गरिने बताएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like